काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशको दिगो विकास श्रमको सम्मान र सक्रिय सहभागिताबिनाको सम्भव नहुने धारणा व्यक्त गरेका छन्।
तनहुँको आँबुखैरेनीमा स्थानीय नागरिकसँगको अन्तरक्रियाका क्रममा उनले भाषण र छलफल मात्रले मुलुक अगाडि नबढ्ने उल्लेख गर्दै व्यवहारमा श्रमलाई आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याए।
अध्यक्ष साम्पाङले उत्पादनशील कार्यलाई प्राथमिकता दिने राजनीतिक अभ्यास आफ्नो दलले अघि सारेको दाबी गर्दै नागरिकलाई श्रमसँग प्रत्यक्ष रूपमा जोड्न सकिए मात्र आर्थिक रूपान्तरण सम्भव हुने बताए। उनका अनुसार श्रम संस्कृतिको अभावका कारण मुलुकमा रोजगारी, आय आर्जन र आत्मनिर्भरताका लक्ष्य हासिल हुन सकेका छैनन्।
उनले स्थापित राजनीतिक दलहरू विकासका नाममा आश्वासन र अभिव्यक्तिमा सीमित भएको आरोप लगाउँदै श्रम संस्कृति पार्टीले श्रमलाई नीति र व्यवहार दुवै तहमा लागू गरेको दाबी गरे। सबै नागरिकलाई उत्पादनमूलक गतिविधिमा संलग्न गराउन नसकिएसम्म बेरोजगारी, गरिबी र बाह्य निर्भरता हटाउन कठिन हुने उनको भनाइ थियो।
विशेष गरी युवा पुस्ता श्रमबाट टाढा रहँदा ठूलो सङ्ख्यामा जनशक्ति वैदेशिक रोजगारीतर्फ जान बाध्य भएको उल्लेख गर्दै अध्यक्ष साम्पाङले यसले दीर्घकालीन रूपमा सामाजिक र आर्थिक चुनौती थप्ने बताए। साथै, उनले विदेशी सहायता र अनुदानमा मात्र निर्भर भएर राष्ट्र निर्माण सम्भव नहुने स्पष्ट पार्दै स्वदेशी श्रम र उपलब्ध स्रोतको प्रभावकारी उपयोगमार्फत विकासको बाटो खोल्नुपर्नेमा जोड दिए।







