काठमाडौँ । नेपाली काँग्रेसले आगामी फागुन २१ गते तय भएको निर्वाचनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै निर्वाचन प्रक्रिया निष्पक्ष र सुरक्षित ढंगले सम्पन्न गराउन सरकारको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा काँग्रेसका प्रवक्ता देवराज चालिसेले निर्वाचनको सुरक्षाको जिम्मेवारी सरकारकै काँधमा रहेको उल्लेख गरे। उनले लोकतान्त्रिक व्यवस्थामा जनताको मत नै शासनको वैधताको आधार हुने भएकाले मतदातालाई बिना दबाब र डर मतदान गर्ने वातावरण उपलब्ध गराइनुपर्ने बताए।
प्रवक्ता चालिसेले प्रत्येक नागरिकले स्वतन्त्र रूपमा मताधिकार प्रयोग गर्न पाउने हक सुरक्षित हुनुपर्नेमा जोड दिँदै उम्मेदवारहरूले पनि सुरक्षित र भयमुक्त वातावरणमा निर्वाचन प्रचार गर्न पाउनुपर्ने बताए। यसका लागि आवश्यक पूर्वाधार र सुरक्षा व्यवस्था मिलाउनु सरकारको दायित्व भएको उनको भनाइ थियो।
काँग्रेसले सरकारलाई चुनावी सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ। साथै प्रवक्ता चालिसेले यसपटकको निर्वाचनमा पनि पार्टीको मुख्य प्रतिस्पर्धा अघिल्ला निर्वाचनझैँ पुरानै राजनीतिक शक्तिसँग हुने दाबी गरेका छन्।







