काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गरेका छन् ।
सोमबार पशुपति बहुमुखी क्याम्पसको ४६ औँ वार्षिकोत्सव समारोहमा उनले न्यूनतम साढे दुईदेखि पाँच प्रतिशतसम्म बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गरेका हुन् ।
उनले विश्वविद्यालयका आंगिक क्याम्पसहरूलाई पाँच प्रतिशत बजेट अनिवार्य रूपमा अनुसन्धानमा खर्च गर्न निर्देशन दिइसकिएको जानकारी दिए । अनुसन्धानमा बजेट खर्च गर्ने प्रयोजनका लागि विश्वविद्यालयले क्याम्पसहरूलाई औपचारिक पत्र पठाउने तयारी समेत गरेको उनले बताए ।
पशुपति क्याम्पसलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न पनि आग्रह गर्दै उनले यसले सिंगो त्रिभुवन विश्वविद्यालयको शैक्षिक स्तर उकास्न सहयोग पुग्ने बताए ।







