काठमाडौँ । नवलपरासी (पश्चिम) क्षेत्र नं. १ का निवर्तमान सांसद तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरीले बर्दघाट नगरपालिका-चिसापानीस्थित निर्माणाधीन ट्रमा सेन्टरको स्थलगत निरीक्षण गरेका छन्।
करिब एक वर्षअघि सुरु गरिएको दुई तले भवनअन्तर्गत पहिलो तलाको ढलान कार्य आजका लागि निर्धारित रहेको छ। अवलोकनका क्रममा उनले परियोजनाको समग्र प्रगति र कार्यतालिकाबारे जानकारी लिँदै तोकिएको समय सीमाभित्र निर्माण सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएका छन्।
चिसापानी अस्पताल परिसरमा ट्रमा सेवासहितको सुविधा सम्पन्न एकीकृत अस्पताल सञ्चालन गर्ने लक्ष्यसहित अघि बढाइएको यस आयोजनालाई आगामी असोज २३ गतेभित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ।
बर्दघाट नगरपालिकाका प्रमुख शम्भु लाल श्रेष्ठ का अनुसार आयोजना सम्पन्न भएपछि क्षेत्रीय स्वास्थ्य सेवामा गुणात्मक सुधार आउने अपेक्षा गरिएको छ। विशेष गरी पूर्व-पश्चिम राजमार्गको नवलपरासी–बुटवल खण्डमा हुने सवारी दुर्घटनाका घाइतेलाई तत्काल ट्रमा उपचार उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
स्थानीय तहका आकस्मिक बिरामीलाई पनि छिटो तथा सुलभ सेवा उपलब्ध गराउने उद्देश्यले अघि बढाइएको उक्त आयोजना निर्वाचन प्रतिबद्धता अनुसार प्राथमिकतामा राखिएको जनाइएको छ। निर्माण प्रगतिसँगै स्थानीयवासीमा सकारात्मक अपेक्षा र उत्साह बढेको बताइएको छ।







