काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उजुरीका आधारमा ललितपुरस्थित एक पानी उद्योगमाथि निरीक्षण अनुगमन गरी कारबाही गरेको छ।
विभागका अनुसार उपभोक्ताको उजुरी गुनासो सम्बोधन गर्ने क्रममा गोदावरी नगरपालिका–४, ललितपुरमा सञ्चालित ‘डाँफे शुद्ध जल’ उद्योगमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निरीक्षण गरिएको हो।
उजुरीमा फोहोर जारमा पानी विक्री–वितरण गरिएको उल्लेख भए पनि निरीक्षणका क्रममा उद्योगमा रहेका जारहरूमा प्रत्यक्ष फोहोर नपाइएको विभागले जनाएको छ। तथापि, पानी भर्न प्रयोग गरिँदै आएका ६ वटा पुराना, कुच्चिएका तथा थोत्रा जार फेला परेको उल्लेख गरिएको छ।
त्यस्तै, प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ बमोजिम राख्नुपर्ने अभिलेखहरू—जस्तै सीआईपी रेकर्ड, तालिका तथा एसओपीलगायत—उपलब्ध नभएको पाइएको छ। कामदारहरूले काम गर्ने क्रममा व्यक्तिगत सरसफाइका मापदण्ड पालना नगरेको, हेयर नेट, ग्लोब्स प्रयोग नगरेको तथा ज्वेलरी, नेल पोलिस, चुरा लगाएको अवस्थासमेत भेटिएको विभागले जनाएको छ।
निरीक्षणपछि विभागले प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका, २०७४ तथा प्याक गरिएको पिउने पानीको मापदण्ड (नेपाल राजपत्र भाग ५, खण्ड ६८, संख्या २) अनुसार उत्पादन गर्न निर्देशन दिएको छ। साथै कामदारको व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन, जारको नियमित र प्रभावकारी सफाइ सुनिश्चित गर्न तथा पानीको स्वच्छता र गुणस्तर कायम गर्न सचेत गराइएको छ।
पुराना तथा सफा गर्न कठिन ६ वटा जार नष्ट गरी भविष्यमा यस्ता जार प्रयोग नगर्न निर्देशन दिइएको विभागले जनाएको छ। थप परीक्षणका लागि जारको पानीको नमुना संकलन गरी प्रयोगशालामा पठाइएको छ।
उपभोक्ताको स्वास्थ्यसँग जोडिएका विभिन्न क्षेत्रमा एकसाथ काम गर्दै आएको विभागले सिमित जनशक्तिका बीच पनि प्रत्येक क्षेत्रमा गुणस्तर कायम गर्न निरन्तर खट्दै आएको छ ।







