म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माण सुरु भएको छ । रु एक करोड आठ लाख आठ हजार ९९२ मा ठेक्का सम्झौता गरेको भण्डारी निर्माण सेवाले भवन निर्माणका लागि जग्गा व्यवस्थापनको काम थालेको हो । गाउँपालिकाका सवइञ्जिनियर मोहम्मद करिमुल्लाह मियाँका अनुसार रु एक करोड ४९ लाख ९१ हजार ४९९ लागत अनुमान गरिएको योजनाको ठेक्का प्रक्रियामा १० वटा कम्पनीले प्रस्ताव गरेका थिए ।
सबैभन्दा कम रकम कबोलेको कम्पनीसँग ठेक्का सम्झौता भएको हो । चालु आर्थिक वर्षभित्रनै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । भूकम्प प्रतिरोधी क्षमताको अपांगमैत्री दुईतले भवनमा दश वडा कोठा हुनेछन् ।
भवनको बुधबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले शिलन्यास गरे । उक्त भवन निर्माणका लागि स्थानीयवासीले चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकसँग जोडिएको पर्यटकीयस्थल महभिर झरना नजिकै रहेको रु एक करोडभन्दा बढी मूल्य पर्ने चार रोपनी क्षेत्रफलको जग्गा नि:शुल्क उपलब्ध गराएका थिए ।
भक्तराज पुन, चतिमा गर्बुजा, भक्तबहादुर गर्बुजा, लोकबहादुर फगामी, लोकबहादुर पुन, भिममाया गर्बुजा, गौमाया गर्बुजा, सुनमति गर्बुजा, प्रितिम रन्तिजा, गौरी गर्बुजाले ११ कित्ता जग्गा नि:शुल्क उपलब्ध गराउनुभएको अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष मइलन गर्बुजा पुनले जानकारी दिए ।
अघिल्लो कार्यकालमा गाउँसभाले महभिरमा वडा केन्द्र कायम गर्ने निर्णय गरेको थियो । साविक हिस्तान गाविसको केन्द्र टिकोटमा थियो । संघीयतापछि पहिलो कार्यकालको सुरुदेखिनै हिस्तानको वडा कार्यालय महभिरमा भाडाको घरमा सञ्चालन हुँदै आएको छ ।







