काठमाडौँ । बाह्रै महिना पहिरोको जोखिम देखिन थालेपछि नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोलामा विशेष प्रविधि अपनाएर पहिरो नियन्त्रणको काम अघि बढाइने भएको छ ।
त्यसका लागि आज (आइतबार)देखि दैनिक पाँच घन्टा सडक बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माका अनुसार पहिरो रोकथामको काम गर्दा उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राखेर सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
तुइनखोलामा वर्षा याम मात्र नभई हिउँदमा पनि पहिरो खस्न थालेपछि सडक डिभिजन कार्यालय भरतपुरले दीर्घकालीन समाधानका लागि विभिन्न प्रविधि प्रयोग गर्न लागेको हो ।
पहिरो प्रभावित क्षेत्रमा ठूला ढुङ्गा हटाएर भिरको ढलान व्यवस्थापन गरिनेछ । फलामका रड गाडेर भिरलाई मजबुत बनाउने ‘नेलिङ’ प्रविधि, भिरभित्रको पानी निकाल्ने ‘होरिजोन्टल ड्रेन’ (तेर्सो निकास) र बायो इन्जिनियरिङ (जैविक प्रविधि) प्रयोग गरिने कार्यालयले जनाएको छ ।
गत असोजदेखि रोकिएको पहिरो नियन्त्रणको काम पुन: अघि बढाउन लागिएको हो । कार्यालयका अनुसार सडकको विद्यमान अवस्था हेर्दा कम्तीमा १५ दिन दैनिक निश्चित समय सडक बन्द गरेर काम गर्नुपर्ने देखिएको छ ।
यसैबीच, पृथ्वी राजमार्गको मुग्लिननजिकै घोप्टेभीरमा भइरहेको काम आज सक्ने र सोमबारदेखि सडक सञ्चालनमा ल्याउने प्रशासनको तयारी छ । काठमाडौँबाट मुग्लिन-आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमै रहने प्रशासनले जनाएको छ ।
प्रशासनले सडक बन्द हुने समयलाई ध्यानमा राखेर यात्रा व्यवस्थापन गर्न यात्रु तथा सवारी चालकलाई अनुरोध गरेको छ ।








