काठमाडौँ। महोत्तरी जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार रहेका मनोजकुमार गुप्ताले सोमबार नेकपा एमालेमा प्रवेश गरेका छन्।
एमाले प्रवेश गर्दै गुप्ताले पार्टीका उम्मेदवार लक्ष्मी महतो कोइरी लाई समर्थन गर्ने निर्णय लिएका छन्, जसको जानकारी एमालेका युवा नेता शंकर महतो ले सार्वजनिक गरे।
गुप्तालाई पार्टीमा स्वागत गर्दै केन्द्रीय सदस्य तथा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादव सहित अन्य नेता सहभागी भए।
एमाले प्रवेश कार्यक्रममा बोल्दै गुप्ताले वर्तमान राजनीतिक अस्थिरता अन्त्य गर्दै स्थिरता, सुशासन र समृद्धिका लागि सक्षम नेतृत्व आवश्यक रहेको औँल्याए। उनले जनपक्षीय संविधान, राष्ट्रिय स्वतन्त्रता, लोकतान्त्रिक मूल्य–मान्यता र सामाजिक न्यायको संरक्षणमा दृढ राजनीतिक इच्छाशक्ति जरुरी रहेको उल्लेख गरे।
गुप्ताले महोत्तरीको समग्र विकास, सामाजिक सद्भाव, आर्थिक सशक्तीकरण र जनजीवन उकास्न राष्ट्रिय हितका आधारमा निर्णय लिनुपर्ने आवश्यकता औँल्याउँदै यही दृष्टिकोणलाई मध्यनजर गरेर एमालेका उम्मेदवार कोइरीलाई समर्थन गर्ने निर्णय लिएको स्पष्ट पारे।







