काठमाडौँ । मध्यपूर्वी देश कतारले म्याद सकिएका वा सकिन लागेका सबै प्रकारका प्रवेश भिसा २८ फेब्रुअरीदेखि लागू हुने गरी एक महिनाका लागि स्वचालित रूपमा नवीकरण गर्ने निर्णय गरेको छ।
कतारको आन्तरिक मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भिसा नवीकरण विद्युतीय प्रणालीमार्फत स्वचालित हुने व्यवस्था रहेको र यसका लागि कुनै शुल्क तिर्नुपर्ने वा कार्यालयमा व्यक्तिगत रूपमा पुग्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पारिएको छ।
यद्यपि, २८ फेब्रुअरीभन्दा अगाडि भिसा उल्लंघन (ओभरस्टे) गरेका व्यक्तिहरूले तोकिएको जरिवाना तिरेपछि मात्र नवीकरण सुविधा र शुल्क छुटको लाभ लिन सक्ने व्यवस्था गरिएको छ।
मन्त्रालयले हालको मध्यपूर्वी सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै कानुनी हैसियत कायम राख्न आवश्यक कदम समयमै चालिने जनाएको छ। साथै सर्वसाधारणलाई घरभित्रै बस्न, अत्यावश्यक बाहिरी गतिविधि मात्र गर्ने, खुला वा झ्यालयुक्त स्थानबाट टाढा रहने र आधिकारिक निर्देश पालना गर्न अनुरोध गरिएको छ।
थप जानकारीका लागि मन्त्रालयले आफ्ना आधिकारिक सामाजिक सञ्जाल र वेबसाइटमार्फत सूचना प्राप्त गर्न सुझाव दिएको छ।








