११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नासु-खरिदारको सरुवासम्म मन्त्रीको हस्तक्षेपको आरोप, खुम्चिँदै सचिवको भूमिका

कर्मचारी सरुवामा सचिवालय हाबी भएको भन्दै मन्त्रालयभित्र असन्तुष्टि बढेको छ भने मन्त्री प्रतिभा रावलले मापदण्ड उल्लङ्घन र अनियमितताको गुनासो आएका विषयमा मात्रै आफूले चासो राख्ने गरेको बताएकी छन् ।

अ अ+ अ-

काठमाडौँ । समग्र निजामती प्रशासनलाई व्यवस्थित, व्यावसायिक र राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने मुख्य जिम्मेवारी बोकेको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै नियमित कर्मचारी सरुवामा राजनीतिक नेतृत्वको हस्तक्षेप बढेको भन्दै असन्तुष्टि चुलिँदै गएको छ ।

कर्मचारी सरुवामा हुने राजनीतिक हस्तक्षेप, पहुँच र भनसुनको अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै आएकी मन्त्री प्रतिभा रावल आफैँ नायब सुब्बा र खरिदार तहसम्मका कर्मचारीको सरुवामा प्रत्यक्ष संलग्न हुन थालेको मन्त्रालयका अधिकारीहरूको गुनासो छ ।

प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त जानकारीअनुसार राजपत्र अनङ्कित तहका कर्मचारीको सरुवा सूचीसमेत मन्त्रीबाटै टुङ्गिने गरेको मन्त्रीनिकट सचिवालयका कर्मचारीहरूले अनौपचारिक कुराकानीमा स्वीकार्ने गरेको मन्त्रालयका कर्मचारीहरू बताउँछन् । सचिवालयबाट सम्बन्धित महाशाखा, शाखा तथा निकायका अधिकारीलाई मन्त्रीबाटै सरुवा टुङ्गिसकेको जानकारी गराउँदै सोहीअनुसार प्रक्रिया अघि बढाउन निर्देशन दिने गरिएको मन्त्रालयका एक अधिकारीले बताए ।

यसरी आएको सूचीमा कर्मचारीको सेवाअवधि, कार्यरत भौगोलिक क्षेत्र, कार्यालयको आवश्यकता, स्वीकृत दरबन्दी र व्यक्तिगत परिस्थितिका आधारमा आवश्यक परीक्षण तथा परिमार्जन गर्नसमेत प्रशासनिक संयन्त्रलाई कठिन हुने गरेको उनको भनाइ छ ।

विगतमा पनि मन्त्रीहरूले कर्मचारी सरुवामा चासो राख्ने गरेको भए पनि मन्त्रालयको प्रशासनिक नेतृत्व यति कमजोर र निरीह भएको यसअघि विरलै देखिएको अनुभवी अधिकारीहरू बताउँछन् ।

मन्त्री रावलले भने आफू नियमित रूपमा नायब सुब्बा र खरिदार तहका कर्मचारीको सरुवा हेरेर नबस्ने स्पष्ट पारेकी छन् ।

‘कहीँ अनियमितता देखियो वा मकहाँ गुनासो आयो भने म फेरि चासो लिएर हेर्छु,’ मन्त्री रावलले प्रशासनसँग भनिन् ।

सम्बन्धित निकायका अधिकारीलाई सरुवाको मापदण्ड पालना गर्न स्पष्ट निर्देशन दिएको बताउँदै उनले आफूले मन्त्रालयको नेतृत्व सम्हालेयता एक–दुई पटक मात्रै हस्तक्षेप गर्नुपरेको उल्लेख गरिन् । यस सन्दर्भमा उनले नापी विभागको विवादित सरुवा बदर गरिएको घटनालाई पनि स्मरण गरिन् ।

कर्मचारीलाई सुशासनको पाठ, आफ्नै कार्यशैलीमा प्रश्न
गत मंसिर ७ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा आयोजित ४१औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री रावलले निजामती सेवाप्रति नागरिकको गुमेको विश्वास पुन:स्थापित गर्नुपर्ने बताएकी थिइन् ।

नवनियुक्त अधिकृतहरूलाई सम्बोधन गर्दै उनले कर्मचारीतन्त्रभित्रको राजनीतिक पहुँच, सरुवामा हुने चलखेल र सेवा प्रवाहमा देखिएका विकृति अन्त्य गर्नुपर्नेमा जोड दिएकी थिइन् । कानुनविपरीत काम गर्न दबाब आए त्यसलाई अस्वीकार गर्न सक्नुपर्ने र कानुनसम्मत काम गर्ने कर्मचारीलाई सरकारले संरक्षण गर्ने उनको भनाइ थियो ।

तर, आफ्नै मन्त्रालयमा सचिव तथा उच्चपदस्थ कर्मचारीलाई निर्देशन दिने क्रममा मन्त्रीले पदीय मर्यादाको पर्याप्त ख्याल नगरेको मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् । प्रशासनिक नेतृत्व सम्हालेका सचिवलाई समेत निजी सहयोगीजस्तो व्यवहार गर्ने कार्यशैली र सार्वजनिक रूपमा व्यक्त हुने सुशासनको प्रतिबद्धतिबीच तालमेल नदेखिएको उनको गुनासो छ ।

कर्मचारीतन्त्रप्रति नागरिकको विश्वास घट्नुमा राजनीतिक हस्तक्षेप पनि एउटा कारण रहेको भन्दै सुधारको सुरुवात कर्मचारीको कार्यशैलीसँगै राजनीतिक नेतृत्वको व्यवहारबाट पनि हुनुपर्ने मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

व्यक्तिगत स्वार्थ र प्रतिशोधमा सरुवा गरिएको आरोप
मन्त्रालयमा पछिल्लो समय भएका केही सरुवामा व्यक्तिगत स्वार्थ र प्रतिशोधसमेत जोडिएको आरोप लागेको छ । प्रशासन तथा मन्त्रीको सचिवालयबाट अनावश्यक हस्तक्षेप हुने र कतिपय अवस्थामा प्रतिशोधपूर्ण ढङ्गले सरुवा गर्ने गरिएको भन्दै कर्मचारीहरूले गुनासो गरेका छन् ।

मन्त्रालय स्रोतका अनुसार अवकाशको समय नजिकिएका केही कर्मचारीलाई समेत उनीहरूको व्यक्तिगत परिस्थिति र सेवाअवधिको ख्याल नगरी दुर्गम क्षेत्रमा पठाइएको छ ।

निजामती सेवा नियमावली, २०५० को नियम ३६ को उपनियम (४) ले राजपत्र अनङ्कित तथा श्रेणीविहीन कर्मचारीलाई घरपायक जिल्लामा सरुवा गर्न प्राथमिकता दिने व्यवस्था गरेको छ । सोही नियमको उपनियम (६) अनुसार उमेरका कारण अनिवार्य अवकाश हुन एक वर्ष वा त्यसभन्दा कम समय बाँकी रहेका कर्मचारीले आफैँ नमागेसम्म उनीहरूको सरुवा गर्न पाइँदैन ।

त्यति मात्रै होइन, सरुवाका लागि अवधि पनि नपुगेका र बिनाविवाद काम गरिरहेका कर्मचारीलाई सरुवा गरेर त्यहाँ आफूअनुकूलका कर्मचारी पठाउने गरेको गुनासोसमेत कर्मचारीहरूबाट उठ्दै आएको छ । यसले कर्मचारीहरूमा थप असन्तुष्टि बढाएको देखिन्छ ।

अनलाइन सरुवा प्रणालीको प्रभावकारितामाथि प्रश्न
कर्मचारी सरुवालाई प्रविधिमा आधारित, पारदर्शी र वस्तुगत बनाउने प्रयास नयाँ होइन । तत्कालीन सामान्य प्रशासनमन्त्री रेखा शर्माको कार्यकालदेखि नै कर्मचारीको सेवासम्बन्धी विवरण परीक्षण गर्ने र सरुवाका लागि अनलाइन निवेदन लिने प्रक्रिया अघि बढाइएको थियो ।

गत फागुनमा मन्त्रालय र राष्ट्रिय किताबखानाबीच कर्मचारीको सरुवा तथा बढुवाका निर्णय व्यक्तिगत सूचना प्रणाली (पीआईएस) मा स्वत: अद्यावधिक गर्ने गरी समझदारीसमेत भएको थियो ।

वर्तमान सरकार गठनपछि मन्त्रालयले सरुवाका लागि आवेदन दिनेदेखि निर्णय गर्ने, सरुवापत्र तयार गर्ने र विवरण सार्वजनिक गर्नेसम्मका प्रक्रिया डिजिटल माध्यमबाट सञ्चालन गर्ने योजना अघि सारेको थियो ।

गत असार १६ गते प्रशासन डटकमले प्रकाशित गरेको ‘कर्मचारी सरुवाका सबै प्रक्रिया अनलाइनबाटै हुने, निर्णय २४ घण्टाभित्र सार्वजनिक गरिने’ शीर्षकको समाचारमा मन्त्री रावलले डिजिटल सरुवा प्रणालीमार्फत पारदर्शिता अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएकी थिइन् । मन्त्रालयले आफ्नो १०० दिने उपलब्धिमा कर्मचारी सरुवा पूर्ण रूपमा अनलाइन प्रणालीबाट सञ्चालनमा ल्याइएको उल्लेख गरेको थियो ।

तर, सरुवाको सूची राजनीतिक नेतृत्वबाटै निर्धारण हुने गरेको आरोप उठेपछि उक्त प्रणालीको प्रभावकारितामाथि प्रश्न उठेको छ । पछिल्ला केही सरुवा सूची हेर्दा विवरण अनलाइनमा प्रविष्ट गरिए पनि सरुवाको निर्णय भने छनोटमुखी रहेको स्पष्ट देखिने मन्त्रालयका अर्का एक सहसचिव बताउँछन् ।

नियमित सरुवामा अल्झिँदा ओझेलमा नीतिगत सुधार
सार्वजनिक प्रशासनको पुनर्संरचना, संघीयता कार्यान्वयन, निजामती सेवाको व्यावसायिक विकास, कर्मचारी व्यवस्थापन र सार्वजनिक सेवा प्रवाह सुधारको नेतृत्व गर्नुपर्ने मन्त्रालयले नीतिगत काममा अपेक्षित गति लिन नसकेको उच्चपदस्थ अधिकारीहरूको भनाइ छ ।

मन्त्री रावलले कार्यभार सम्हालेपछि लोक सेवा आयोगको योग्यताक्रमका आधारमा कर्मचारी पदस्थापन गर्ने, स्थानीय तहमा नियमित प्रमुख प्रशासकीय अधिकृत खटाउने र विवादित सरुवा सच्याउनेलगायतका सकारात्मक प्रयास पनि गरेकी थिइन् ।

मन्त्रालयको १०० दिने प्रगति विवरणमा २२३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइएको उल्लेख थियो । नापी विभागका ८५७ कर्मचारीको विवादित सरुवा बदर गरी नयाँ मापदण्ड जारी गर्ने निर्णय पनि उनको कार्यकालको महत्त्वपूर्ण कदम हो ।

गत असोज १५ गते संघीय निजामती सेवा विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता भएको छ । यद्यपि, संसद्को सार्वजनिक अभिलेखअनुसार उक्त विधेयक अझै प्रारम्भिक प्रक्रियामै छ ।

यी प्रयासलाई संस्थागत गर्दै प्रशासनिक सुधारका बाँकी कामलाई गति दिनुपर्नेमा राजनीतिक नेतृत्वको समय र ध्यान नियमित कर्मचारी सरुवामा बढी केन्द्रित भएको मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् । त्यसको असर नीति, कानुन, संघीयता कार्यान्वयन तथा दीर्घकालीन प्रशासनिक सुधारसँग सम्बन्धित कामको प्राथमिकतामा परेको उनको भनाइ छ ।

निर्णय राजनीतिक नेतृत्वबाट, जवाफदेहिता सचिवमाथि
मन्त्री तथा उनको सचिवालयको कार्यशैलीप्रति मन्त्रालयका कतिपय कर्मचारीको असन्तुष्टि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुगेको अर्का एक सहसचिवले बताए ।

नियमित प्रशासनिक निर्णयमा सचिवको भूमिका खुम्चिएको विषय सिंहदरबारमा समेत चर्चाको विषय बनेको छ ।

निर्णय प्रक्रियामा पर्याप्त सहभागिता नहुने तर त्यसबाट सिर्जना हुने विवाद, कानुनी प्रश्न र प्रशासनिक जवाफदेहिता भने आफूमाथि आउने अवस्थाले सचिवलाई असहज बनाएको मन्त्रालयका एक अधिकारीले बताए ।

सरुवा गर्ने कानुनी अधिकार कसलाई ?
निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा (१) ले कर्मचारी सरुवाको अधिकार सम्बन्धित अख्तियारवालालाई प्रदान गरेको छ । सोही उपदफाले अन्तरमन्त्रालय सरुवाको अधिकार सामान्य प्रशासन मन्त्रालयलाई र नेपाल प्रशासन सेवाको लेखा समूहका कर्मचारीको सरुवाको अधिकार महालेखा नियन्त्रक कार्यालयलाई दिएको छ ।

निजामती सेवा नियमावली, २०५० को नियम ३६ ले सरुवाको समयतालिका, सेवाअवधि र आधार तथा नियम ३८ ले सरुवाको कार्यविधि निर्धारण गरेको छ ।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ९ ले मन्त्रालयको नीतिगत नेतृत्वसहित समग्र जिम्मेवारी मन्त्रीलाई दिएको छ भने दफा ११ ले सचिवलाई मन्त्रालयको प्रमुख प्रशासकीय पदाधिकारीका रूपमा जिम्मेवारी तोकेको छ । मन्त्रीलाई आवश्यक निर्देशन दिने अधिकार भए पनि उनको निजी वा स्वकीय सचिवालयलाई कर्मचारी सरुवा टुङ्ग्याउने स्वतन्त्र अधिकार प्रचलित निजामती सेवा कानुनले दिएको छैन ।

मन्त्री रावलले भने सरुवामा पुरानो परिपाटीको अन्त्य गर्दै निर्धारित मापदण्डअनुसार अघि बढ्न सम्बन्धित अधिकारीलाई स्पष्ट निर्देशन दिइसकेको बताएकी छन् ।

‘त्यो सहसचिवको होस्, उपसचिवको होस् वा त्योभन्दा तलको तहको होस्, त्यसले फरक पार्दैन । जहाँ मापदण्डअनुसार काम भएन वा कसैले बठ्याइँ गर्न खोज्यो भन्ने सुन्नेबित्तिकै म त्यसमा हस्तक्षेप गर्छु,’ उनले प्रशासनसँग भनिन् ।

समग्र निजामती प्रशासनका लागि नीति र मापदण्ड निर्धारण गर्ने मन्त्रालय स्वयंले कर्मचारी सरुवामा ती मापदण्डको समान प्रयोग, प्रशासनिक संयन्त्रको व्यावसायिक स्वतन्त्रता र निर्णय प्रक्रियाको पारदर्शिता सुनिश्चित गर्नुपर्ने मन्त्रालयकै अधिकारीहरूको अपेक्षा छ ।

0 Comments