काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले आफ्नो पार्टीप्रति जनताले सबैतिर सकारात्मक सद्भाव राखेको पाइएको बताएका छन्।
१३० क्षेत्रमा उम्मेदवारी दिए पनि कुनै क्षेत्रमा पनि प्रतिस्पर्धामा समेत आउन नसकेको पार्टीका महासचिवले यस्तो दाबी गरेका हुन्।
उनले भनेका छन्, ‘क्रान्तिको यात्रामा चुनाव आयो । चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौँ। १३० ठाउँमा कमरेडहरू पार्टीको निर्णय अनुसार जोस र उत्साहका साथ मोर्चामा नेतृत्व गर्नु भयो । एकदमै मेहनतकासाथ जनतामाझ पुगेर पार्टीका विचार, नीति र उद्देश्य राख्नु भयो । जनताले सवैतिर सकारात्मक सद्भाव राखेको पाइयो ।’
उनले परिणाम जे आए पनि आफूहरूले चुनावलाई मोर्चाका रूपमा प्रयोग गरेको बताएका छन्।
थपेका छन्, ‘परिणाम जे आए पनि यो हाम्रो साझा लडाइँ हो। संसदमा पुगेर मात्र होइन जनताको बीचबाट देश र जनताको हितमा डटेर संघर्ष र निर्माणको नेतृत्व गरिनेछ । पुँजीवाद रहेसम्म समाजवादी-साम्यवादी क्रान्ति जारी रहनेछ ।’
समानुपातिकतर्फ ९३ लाख ६६ हजार ५४३ मत गन्दा यो पार्टीले अहिलेसम्म २१ हजार १९३ मत पाएको छ।







