काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्री डा. सुधा गौतमले स्वदेशी औषधि उद्योगलाई उत्पादन विस्तार गर्दै मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउने दिशामा अघि बढ्न आग्रह गरेकी छन्।
स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेपछि आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा औषधि उद्योगको उल्लेखनीय विकास भए पनि अझै धेरै सुधार र विस्तारको आवश्यकता रहेको बताइन्।
यस क्षेत्रको प्रगति सुनिश्चित गर्न सरकारले उद्योगलाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उत्पादन क्षमता वृद्धि गर्न उद्योगीहरूलाई प्रेरित गरिन्।
बिहीबार आयोजित फार्मा एक्स्पो लाई सम्बोधन गर्दै मन्त्री गौतमले नेपाली औषधि उद्योगको गुणस्तर र उत्पादन क्षमता दुवैलाई सुदृढ बनाउनु आवश्यक रहेको धारणा राखिन्।
उनका अनुसार नेपालमा हाल करिब ८८ वटा औषधि उत्पादन गर्ने उद्योग सञ्चालनमा छन्। तीमध्ये करिब ५० उद्योगले विश्व स्वास्थ्य संगठन द्वारा मान्यता प्राप्त ‘असल उत्पादन अभ्यास’ (डब्लूएचओ-जीएमपी) प्रमाणपत्र प्राप्त गरिसकेका छन्।
मन्त्री गौतमले आफू स्वास्थ्य सचिवका रूपमा कार्यरत रहँदा पनि औषधि उत्पादक संघ (एपोन) लगायतका संस्थालाई उत्पादन वृद्धि गर्न आग्रह गरेको स्मरण गरिन्। उनका अनुसार उद्योगहरूले न्यून उत्पादनमा सीमित रहने अवस्था अन्त्य गर्दै ठूलो परिमाणमा उत्पादनतर्फ उन्मुख हुनुपर्ने आवश्यकता छ।
स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि औषधि क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला निकायसँग छलफल गरिएको उल्लेख गर्दै उनले एनसिडिए लगायतका संस्थाका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर उद्योगसम्बन्धी समस्या र समाधानका विषयमा संवाद गरिएको जानकारी दिइन्। साथै, उद्योगीहरूले भोगिरहेका समस्याको समाधानका लागि सरकार सहकार्य गर्न तयार रहेको उनले बताइन्।







