काठमाडौँ। नेपाली काँग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फ चयन हुने सांसदहरूको नाम भोलि निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।
पार्टीका महामन्त्री गुरुराज घिमिरेका अनुसार बन्द सूचीमा समावेश भएका उम्मेदवारहरूबाट समावेशी समूह (क्लस्टर) मिलाएर नाम पठाउने विषयमा आन्तरिक छलफल भइरहेको छ। उनले हालसम्म अन्तिम रूपमा पठाइने नाम टुंगो लागि नसकेको जानकारी दिए।
घिमिरेका अनुसार पार्टी अहिले समानुपातिकतर्फ आयोगमा सिफारिस गर्ने उम्मेदवारहरूको सूची तयार पार्ने गृहकार्यमा केन्द्रित रहेको छ।
हालै सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ भने समानुपातिक मततर्फ १७ लाख ५९ हजार १७२ मत प्राप्त गर्दै ३८ सिट हासिल गरेको छ।







