काठमाडौँ । सरकारले गत भदौ २३ र २४ को जेनजेड आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सोमबार ग्रहण गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। उनले सोमबार यस विषयमा विस्तृत जानकारी सार्वजनिक हुने पनि बताए।
बैठकले युद्ध प्रभावित पश्चिमी एसियाली मुलुकहरूमा रहेका र ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकहरूको तत्काल राहत तथा उद्धार कार्य प्रभावकारी बनाउनका लागि नेपाली राजदूतावासहरू रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, मनमा, मस्कट, इस्लामाबाद, काइरो र तेल अबिब तथा नेपाली महावाणिज्य दूतावासहरू जेद्दा र दुबईमा आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको प्रवक्ता अर्यालले बताए।
त्यस्तै, बैठकले नेपालका हिमनदी बेसिन क्षेत्रमा हिमताल विस्फोटजन्य बाढी तथा जलवायु परिवर्तनजन्य बाढीबाट उत्पन्न जोखिम न्यूनीकरण परियोजनाका लागि हरित जलवायु कोषमार्फत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमबाट प्राप्त हुने २ करोड ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।







