काठमाडौँ। भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माण परियोजनामा संलग्न नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारी र उप-प्रबन्धक नलविक्रम थापालाई विशेष अदालतले दिएको धरौटी आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा निवेदन दायर गरेको छ।
अख्तियारले प्रारम्भिक अनुसन्धानमा उक्त परियोजनामा करिब १३ करोड ५७ लाख रुपैयाँभन्दा बढी अनियमितता भएको निष्कर्ष निकालेको थियो। यही आधारमा भण्डारी, थापा र अन्य चार जनाविरुद्ध मंसिर १७ गते विशेष अदालतमा मुद्दा दायर गरिएको थियो।
विशेष अदालतले मंसिर २१ मा भण्डारीलाई पाँच लाख रुपैयाँ र माघ १२ मा थापालाई दुई लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यी आदेश त्रुटिपूर्ण रहेको भन्दै दुवैलाई पुर्पक्षका लागि थुनामा राख्ने माग गर्दै सर्वोच्चमा उजुरी गरिएको हो।







