काठमाडौँ। राष्ट्रिय सभाले उपाध्यक्ष र समिति सभापतिको निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।
बुधबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले समितिमा सदस्यहरूको मनोनयनसँगै उपाध्यक्ष र समिति सभापतिको निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको राष्ट्रिय सभा सचिवालयले जनाएको छ।
बैठकमा बिहीबारको लागि कार्यसूची तयार पार्ने निर्णय पनि भएको छ, जसअनुसार राजनीतिक दलका नेताहरूले शुभकामना मन्तव्य दिने व्यवस्था रहनेछ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले २०औँ अधिवेशन सफल बनाउन सबै राजनीतिक दलको सक्रिय सहभागिता र रचनात्मक भूमिकाको अपेक्षा व्यक्त गर्दै सभामा आवश्यक सहकार्य र सहजीकरणको लागि अनुरोध गरेका थिए।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, कार्यव्यवस्था परामर्श समितिका सदस्यहरू, संघीय संसद्का महासचिव, राष्ट्रिय सभाका सचिव लगायतको उपस्थिति रहेको थियो।







