काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा निर्वाचनका क्रममा पार्टीको निर्णय विपरीत गतिविधिमा संलग्न व्यक्तिहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
पार्टीको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकमा निर्वाचन अवधिमा भएको अनुशासन उल्लंघनसम्बन्धी प्राप्त उजुरीहरूबारे छलफल गरिएको जनाइएको छ।
समितिका अनुसार हालसम्म ५०७ जनाविरुद्ध परेका उजुरीहरूलाई वर्गीकरण गरी छिटो निष्कर्षमा पुर्याउने निर्णय गरिएको छ। स्वतन्त्र उम्मेदवार बनेका, प्रस्तावक-समर्थकको भूमिकामा रहेका, पार्टी उम्मेदवारविरुद्ध प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रचार-प्रसारमा संलग्न भएका, विपक्षीलाई सहयोग पुर्याएका तथा पार्टीका लागि मत नमागी निष्क्रियता देखाएका व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउने तयारी गरिएको छ।
यसैगरी, उजुरीका आधारमा आरोपित व्यक्तिहरूसँग ७ दिनभित्र स्पष्टीकरण माग गर्ने निर्णय पनि गरिएको छ।
समितिले निर्वाचनसम्बन्धी अनुशासन उल्लंघनका उजुरी चैत मसान्तभित्र केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन दिएको छ। निर्धारित समयपछि प्राप्त हुने उजुरीमाथि कारबाही प्रक्रिया अघि नबढाइने स्पष्ट पारिएको छ।








