काठमाडौँ। काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ। प्रारम्भिक चरणमा चार रुटमा विद्युतीय बस सञ्चालन गरिने योजना छ।
महानगरका अनुसार ललितपुरको लगनखेलबाट पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म उत्तर-दक्षिणतर्फ करिब १६ किलोमिटरको रुट तय गरिएको छ। यस्तै, थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्व-पश्चिम दिशामा करिब २० किलोमिटरको अर्को रुट रहनेछ। यी रुटमा चारवटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने जनाइएको छ।
सेवा सञ्चालन समय साँझ ८ बजेदेखि राति ११ बजेसम्म निर्धारण गरिएको छ भने प्रत्येक २० मिनेटको अन्तरमा बस उपलब्ध गराइनेछ। बसमा सिसिटिभी क्यामरा जडान गरिने र सुरक्षाका लागि नगर प्रहरी परिचालन गरिने योजना छ।
महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायात साँझपछि अभाव हुने अवस्थालाई सम्बोधन गर्न यो सेवा सुरु गर्न लागिएको बताएकी छिन्। ‘बेलुका ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महँगो यात्रा गर्नु पर्ने विद्यमान अवस्थामा सुधार गर्न जरुरी भएकोले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेका हौँ,’ उनले भनिन्। उनका अनुसार सार्वजनिक यातायातको अभावले सर्वसाधारण, विशेष गरी विद्यार्थी र महिलालाई समस्या पर्ने अवस्था रहेको छ।
महानगरपालिकाले यो सेवालाई दिगो, सुरक्षित र एकीकृत सार्वजनिक यातायात प्रणालीको प्रारम्भिक कदमका रूपमा लिएको जनाएको छ। सेवा विस्तारका लागि अन्य साझेदारसँग सहकार्य गर्ने तयारीसमेत गरिएको छ।







