काठमाडौँ । कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले पदबाट राजीनामा दिएका छन्। सचिव बुढाथोकीमाथि दोहोरो सुविधा लिएको, सार्वजनिक कोषको दुरुपयोग गरेको र नियमावली उल्लंघन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक-पटक उजुरी परेका थिए।
खासगरी निजी सचिवमा श्रीमती नियुक्त गरी तलब लिएको विषय सार्वजनिक भएपछि विवाद झन् बढेको थियो। सचिवालयका अनुसार उनले २०८१ असारसम्म दोहोरो सुविधा लिएका थिए भने २०८१ साउनदेखि उनको खाता रोक्का गरिएको थियो। दोहोरो सुविधा लिएको आरोप चर्किँदै गएपछि उनले ३१ लाख ६९ हजार ९ सय २३ रुपैयाँ फिर्ता गरेका थिए।
सचिव बुढाथोकीले राजीनामा पत्र तयार पारेर हिजो राति प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए। तर प्रदेश प्रमुखको कार्यालयले बुढाथोकीको राजीनामा आएको भए पनि कागजपत्रमा फरक परेकाले सच्याउन पठाएको थियो। उनको राजीनामा आज मात्रै स्वीकृत गरिएको हो।








