काठमाडौँ । ताप्लेजुङस्थित आठराई त्रिवेणी गाउँपालिकाले साप्ताहिक दुई दिन बिदा दिने केन्द्र सरकारको निर्णय कार्यान्वयन नगर्ने जनाएको छ।
सरकारले चैत २३ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने नीति अघि सारे पनि उक्त गाउँपालिकाले स्थानीय अवस्थालाई दृष्टिगत गर्दै सो व्यवस्था लागू नगर्ने निर्णय गरेको हो।
पालिकाका अनुसार अधिकांश कर्मचारी कार्यस्थल नजिकै बसोबास गर्ने र भौगोलिक रूपमा विकट क्षेत्रका कारण विस्तारित समय सीमाभित्र सेवाग्राहीहरू कार्यालयमा पुग्न कठिन हुने अवस्था रहेको छ। यही कारण अतिरिक्त बिदा लागू गर्दा सेवा प्रवाह प्रभावित हुन सक्ने निष्कर्ष निकालिएको जनाइएको छ।
जारी सूचना अनुसार पालिकाभित्रका सबै सरकारी कार्यालय आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा सञ्चालन हुनेछन्। वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म रहनेछ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सेवा प्रवाह गरिने व्यवस्था मिलाइएको छ।








