काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मुलुकको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि तथ्यमा आधारित नीति निर्माण र प्रभावकारी सुशासन अपरिहार्य रहेको बताएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित ‘स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको राष्ट्रिय शिखर सम्मेलन’लाई सम्बोधन गर्दै उनले स्वास्थ्य अनुसन्धान अब छनोटको विषय मात्र नभई आवश्यकता बनिसकेको बताएका छन्।
यस वर्षको शिखर सम्मेलनको नारा ‘नेपालमा तथ्यमा आधारित निर्णय प्रक्रिया र कार्यान्वयनका लागि स्वास्थ्य अनुसन्धान सुशासन’प्रति ऐक्यबद्धता जनाउँदै सचिव देवकोटाले अनुसन्धान, सुशासन, प्रमाण, निर्णय प्रक्रिया र कार्यान्वयनलाई एकीकृत रूपमा अगाडि बढाउनुपर्ने बताएका छन्।
उनले अनुमानका आधारमा नभई विश्वसनीय तथ्यांक र प्रमाणका आधारमा निर्णय लिने परिपाटी नै प्रभावकारी स्वास्थ्य नीतिको मेरुदण्ड भएको स्पष्ट पारेका छन्।
विश्वव्यापी रूपमा देखिएका सङ्क्रामक तथा नसर्ने रोग, जलवायु परिवर्तनका असर तथा स्वास्थ्य सेवामा रहेको असमानता जस्ता जटिल चुनौतीलाई सम्बोधन गर्न प्रमाणमा आधारित नीति निर्माणको महत्त्व अझ बढेको उनले बताएका छन्।
उच्च कार्यक्षमता भएको स्वास्थ्य प्रणालीका लागि सुशासनलाई आधार मान्दै उनले पारदर्शिता, जबाफदेहिता र विधिको शासन सुनिश्चित गर्नुपर्ने बताएका छन्।
स्वास्थ्य सेवा प्रवाहलाई कुशल, उत्तरदायी, समतामूलक र समयसापेक्ष बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
सचिव देवकोटाले नीति निर्माण र कार्यान्वयनबीचको खाडल घटाउन अनुसन्धानका निष्कर्षलाई व्यवहारमा रूपान्तरण गर्ने प्रक्रियालाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याएका छन्।







