काठमाडौँ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सप्तरीको रुपनी स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र भित्रका १३ वटा प्लट उद्योग स्थापनाका लागि भाडामा उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ।
कम्पनीको शाखा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै औद्योगिक क्षेत्रभित्र विकास गरिएका प्लटहरूमा उद्योग सञ्चालन गर्न इच्छुक उद्यमी तथा कम्पनीहरूबाट सिलबन्दी प्रस्ताव आह्वान गरेको जनाएको छ।
‘औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ (संशोधन सहित)’ को विनियम ५ अनुसार प्राथमिकता प्राप्त तथा नेपाल सरकारबाट विधिवत् इजाजत प्राप्त उद्योगहरू प्रस्ताव प्रक्रियामा सहभागी हुन सक्नेछन्।
उक्त औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनका लागि आवश्यक आधारभूत पूर्वाधार उपलब्ध गराइएको जनाइएको छ। सडक, विद्युत्, पानी तथा ढल व्यवस्थासहितका संरचना तयार भएकाले उद्योग स्थापना प्रक्रियालाई सहजीकरण हुने अपेक्षा गरिएको छ।
सूचनाअनुसार प्लट नम्बर १ देखि ७, ८, ९, १० तथा १४, १५ र १६ गरी कुल १३ वटा प्लट भाडामा उपलब्ध गराइनेछन्। ती प्लटहरूको क्षेत्रफल न्यूनतम ५ रोपनीदेखि अधिकतम ७ रोपनीभन्दा बढी रहेको छ।
इच्छुक आवेदकहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्रस्ताव फाराम खरिद गर्नुपर्नेछ। खरिद गरिएको सिलबन्दी प्रस्ताव २२औँ दिन दिउँसो १२ बजेसम्म पेस गर्नुपर्ने समयसीमा तोकिएको छ।
प्रस्ताव फाराम खरिद तथा बुझाउने व्यवस्था रुपनीस्थित शाखा कार्यालय वा काठमाडौँको बालाजु स्थित केन्द्रीय कार्यालयमार्फत मिलाइएको छ। विस्तृत सर्त तथा थप जानकारी कम्पनीको आधिकारिक वेबसाइट र सूचना पाटीमार्फत प्राप्त गर्न सकिने जनाइएको छ।







