काठमाडौँ । ग्रामीण तथा पहाडी क्षेत्रमा बाँदरको कारण कृषकहरूले भोग्दै आएको बाली क्षतिको समस्या सम्बोधन गर्न संघीय सरकारले स्थानीय तहसँग समन्वय र सहजीकरण गर्न आग्रह गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै बाँदर व्यवस्थापन तथा नियन्त्रणसम्बन्धी कार्यमा आवश्यक सहयोग गर्न निर्देशन दिएको हो ।
गृह मन्त्रालयको अनुरोधपछि मन्त्रालयले उक्त विषयमा स्थानीय तहलाई समन्वयात्मक भूमिका निर्वाह गर्न सर्कुलर जारी गरेको हो । गृह मन्त्रालयले केही दिनअघि नै सामान्य प्रशासन मन्त्रालयलाई सम्बोधन गर्दै आवश्यक सहजीकरणको लागि पत्र पठाएको थियो ।
गृह मन्त्रालयका अनुसार विभिन्न पहाडी तथा ग्रामीण क्षेत्रमा बाँदरका कारण कृषकको खेती बालीमा उल्लेखनीय क्षति भइरहेको गुनासो प्राप्त भएपछि समाधानका उपायका रूपमा बाँदर नियन्त्रण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न स्थानीय तहको सक्रियता आवश्यक देखिएको हो ।
गृह मन्त्रालयमा प्राप्त निवेदनका आधारमा उक्त विषयलाई सम्बोधन गर्न स्थानीय तहसँग सहकार्य गर्न भनिएको हो ।
यसैक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत दिपेश कट्टेलको हस्ताक्षरमा देशभरका पालिकाहरूलाई आवश्यक समन्वय र सहजीकरण गर्न पत्राचार गरिएको जनाइएको छ ।










