काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले राष्ट्र र नागरिकप्रतिको सेवाभावलाई प्राथमिकतामा राख्दै सकारात्मक सोच र उच्च मनोबलका साथ कार्यक्षेत्रमा परिचालन हुन संगठनका सदस्यहरूलाई निर्देशन दिएका छन् ।
चितवनको कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयको २२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले विपद् प्रभावित नागरिकको उद्धारमा खटिँदा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
उनले उक्त शिक्षालयले छोटो अवधिमै विपद् व्यवस्थापन क्षेत्रमा विशिष्ट पहिचान बनाउँदै आएको उल्लेख गर्दै संकटग्रस्त अवस्थामा नागरिक उद्धारमा महत्वपूर्ण योगदान पुर्याएको बताए । साथै, देशका विभिन्न दुर्गम तथा जोखिमयुक्त क्षेत्रहरूमा समेत तत्काल परिचालन भई मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको उनले स्पष्ट पारे ।
महानिरीक्षक अर्यालका अनुसार संगठनले हालसम्म विभिन्न स्थानमा विपद् व्यवस्थापनसम्बन्धी नौ वटा आधार केन्द्र स्थापना गरिसकेको छ भने थप छ वटा निर्माणको चरणमा छन् । २०६३ सालयता विभिन्न प्रकारका विपद् घटनामा परिचालन हुँदा १५ हजारभन्दा बढी नागरिकको सकुशल उद्धार, ठूलो संख्यामा घाइतेको उद्धार तथा हजारौँ शवको खोजी गरिएको तथ्यांक उनले प्रस्तुत गरे ।
कार्यक्रममा उनले गृहमन्त्री सुधन गुरुङले समेत सोही शिक्षालयमा तालिम लिएको प्रसंग उल्लेख गर्दै यसले विपद् व्यवस्थापनमा थप सहयोग र प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
संगठनलाई वर्तमान अवस्थामा पुर्याउन प्रशिक्षक, कर्मचारी तथा सम्पूर्ण जनशक्तिको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि जिम्मेवारी बोधका साथ काम गर्न आग्रह गरे ।
सो अवसरमा उत्कृष्ट कार्य गर्ने सुरक्षाकर्मी, खेलकुद प्रतियोगिताका विजेता तथा सहयोगी संघ-संस्थाका प्रतिनिधिहरूलाई सम्मान तथा कदर गरिएको थियो ।
कार्यक्रममा रमेशबाबु थापा मगर र गणेश अर्याललगायतका वक्ताहरूले विपद् जोखिम व्यवस्थापन तथा उद्धार कार्यमा सशस्त्र प्रहरीको भूमिका प्रशंसनीय रहेको धारणा राखेका थिए ।
उक्त शिक्षालयले २०६८ सालदेखि हालसम्म विभिन्न प्रकारका दुर्घटना तथा विपद्का घटनामा एक हजारभन्दा बढी व्यक्तिको जीवित उद्धार र सयौँ शव फेला पार्न सफल भएको जनाएको छ । कार्यक्रममा पूर्व महानिरीक्षक, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।







