काठमाडौँ । धनगढी उपमहानगरपालिकाले संघीय सरकारले निर्धारण गरेको समय तालिकाभन्दा फरक निर्णय गर्दै स्थानीय विद्यालयहरूमा विद्यार्थी भर्ना प्रक्रिया अघि बढाउने भएको छ ।
उपमहानगर प्रमुख गोपाल हमालले सार्वजनिक गरेको सूचनाअनुसार वैशाख ४ गतेदेखि भर्ना अभियान सुरु गरिने र वैशाख १४ गतेबाट नियमित कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका स्थानीय तहलाई वैशाख १५ देखि भर्ना र वैशाख २१ देखि पठनपाठन सुरु गर्न निर्देशन दिएको थियो ।
तर स्थानीय सरोकारवालाबाट प्राप्त सुझावअनुसार ढिलो भर्ना तथा कक्षा सञ्चालनले शैक्षिक गतिविधिमा असर पर्ने, वार्षिक कार्यघण्टा अपुग हुने तथा सिकाइको गुणस्तरमा नकारात्मक प्रभाव पर्न सक्ने निष्कर्ष निकालिएको जनाइएको छ ।
यसै आधारमा नगर शिक्षा समितिको बैठकले उपमहानगरभित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरूलाई वैशाख ४ देखि ११ गतेसम्म भर्ना प्रक्रिया सम्पन्न गरी वैशाख १४ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।







