काठमाडौँ । गोरखाका सामुदायिक विद्यालयहरूमा भोलि सोमबारदेखि नियमित पठनपाठन तथा भर्ना प्रक्रिया एकैसाथ सुरु हुने भएको छ।
संघीय सरकारले नयाँ शैक्षिक सत्र वैशाख २१ गतेदेखि सञ्चालन गर्ने निर्णय गरे पनि त्यसलाई व्यवहारिक नभएको निष्कर्ष निकाल्दै जिल्ला स्तरीय सरोकारवालाले समयअघि नै कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन्। सोहीअनुसार वैशाख ७ गतेदेखि नै शैक्षिक गतिविधि अघि बढाइने भएको छ।
जिल्ला समन्वय समितिको समन्वयमा शुक्रबार सम्पन्न पालिका प्रमुखहरूको बैठकले शिक्षा मन्त्रालयबाट विद्यालय सञ्चालन तथा भर्नासम्बन्धी जारी भएका परिपत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैठकले शैक्षिक क्यालेन्डरमा अन्योल नआओस् भन्ने उद्देश्यले तत्काल कक्षा सञ्चालन गर्ने निष्कर्ष निकालेको हो।
स्थानीय तहका प्रतिनिधिहरूले संघीय निर्देशनअनुसार कार्यघण्टा पूरा नहुने तथा शैक्षिक सत्रमै असन्तुलन देखिने जोखिम रहेको उल्लेख गर्दै स्पष्ट कानुनी तथा नीतिगत मार्गदर्शनका लागि नयाँ शिक्षा ऐन शीघ्र ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।
अभिभावकको मागलाई समेत आधार मानेर सोमबारदेखि भर्ना अभियान र नियमित पठनपाठन सँगसँगै अघि बढाइने निर्णय गरिएको जनाइएको छ।
त्यसैगरी, जिल्लामा चालु आर्थिक वर्षका विकास आयोजना कार्यान्वयनका लागि संघीय सरकारले विनियोजन गरेको बजेट रोक्का रहेको विषयप्रति पनि ध्यानाकर्षण गराउँदै तत्काल निकासा गर्न आग्रह गरिएको छ।







