काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस मुद्दामा सरकारी साक्षीको प्रतिकूल बकपत्र गर्ने विरुद्ध मुद्दा दायर गरेको छ ।
विशेष अदालतमा विचाराधीन घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा अनुसन्धानका क्रममा सरकारी साक्षीका रूपमा रहेका एक व्यक्तिले अदालतमा दिएको बयान अनुसन्धान प्रतिवेदनसँग असंगत रहेको देखिएपछि अख्तियारले राजमान तामाङविरुद्ध मुद्दा दायर गरेको हो।
आयोगका अनुसार चन्द्रबहादुर अधिकारीसहित प्रतिवादी रहेका नेपाल बैंक लिमिटेडसँग सम्बन्धित उक्त प्रकरणमा हिमाल तराई कन्स्ट्रक्सन प्रा.ली.का प्रोप्राइटर तामाङलाई अनुसन्धानमा सहयोग गरेबापत कानुनअनुसार सरकारी साक्षीको सुविधा प्रदान गरिएको थियो। तर उनले विशेष अदालतमा गरेको बकपत्र अनुसन्धानका क्रममा दिएको बयान र प्रमाण सामग्रीसँग मेल नखाने देखिएको जनाइएको छ।
उक्त मुद्दामा बैंकको सञ्चालक समिति अध्यक्ष रहेका चन्द्रबहादुर अधिकारी र रमेश आचार्यबीचको मिलेमतोमा सेवाग्राही तामाङसँग ऋण प्रक्रियासँग जोडेर पाँच लाख रुपैयाँ घुस माग तथा लेनदेन भएको आरोप अनुसन्धानबाट स्थापित भएको आयोगको दाबी छ। सो क्रममा रकमको चेकमार्फत कारोबार भएको र उक्त चेक प्रतिवादी अधिकारीको निवासबाट समेत बरामद भएको तथ्य उल्लेख गरिएको छ।
यसै आधारमा राजमान तामाङले गैरकानुनी लाभसँग सम्बन्धित प्रक्रियामा संलग्न भई अनुसन्धानसँग प्रतिकूल हुने गरी अदालतमा बयान दिएको निष्कर्ष निकाल्दै आयोगले उनलाई भ्रष्टाचारसम्बन्धी कानुनअनुसार कारबाहीको माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।
आयोगले उनीमाथि बिगो कायम गरी कैद तथा जरिवानासहित कानुनबमोजिम सजाय र सम्बन्धित रकम तथा सम्पत्ति जफत गर्न माग गरिएको जनाएको छ।








