काठमाडौँ । यातायात व्यवस्था विभागले विद्युतीय सवारीसाधन (ईभी) मा हालै समायोजन गरिएको सार्वजनिक भाडादर लागू नहुने स्पष्ट गर्दै नियम विपरीत भाडा असुलिएमा कारबाही हुने चेतावनी दिएको छ ।
विभागले जारी गरेको सूचनामा अन्तर्राष्ट्रिय बजारमा जैविक इन्धनको मूल्य बढेसँगै स्वचालित प्रणालीमार्फत अन्तर प्रदेशीय सार्वजनिक यातायातको भाडा समायोजन गरिएको भए पनि उक्त वृद्धि डिजेल इन्जिन प्रयोग हुने सवारीमा मात्र सीमित रहेको उल्लेख गरिएको छ । सो अनुसार विद्युतीय सवारीसाधनमा भने पुरानै भाडादर कायम रहने स्पष्ट पारिएको छ ।
हाल केही विद्युतीय सवारी सञ्चालकहरूले समेत भाडा बढाएको भन्ने गुनासो सार्वजनिक भएपछि विभागले यस्तो स्पष्टीकरण जारी गरेको हो । विभागका अनुसार ईभी सेवामा कुनै पनि प्रकारको भाडा वृद्धि मान्य हुने छैन र पहिले निर्धारण गरिएको दर नै लागू गर्नुपर्नेछ ।
त्यसैगरी, यात्रुबाट भाडा असुल गर्दा अनिवार्य रूपमा टिकट उपलब्ध गराउनुपर्ने व्यवस्था कडाइका साथ लागू गरिने पनि सूचनामा उल्लेख छ ।
सेवा प्रदायकहरूले नियम उल्लंघन गरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९, नियमावली २०५४ तथा प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने विभागले जनाएको छ ।
विभागले सबै यातायात व्यवसायीलाई कानुनको पालना गर्न र यात्रु अधिकार सुनिश्चित गर्न आग्रह गर्दै विद्युतीय सवारीमा भाडा वृद्धि अस्वीकार्य रहेको दोहोर्याएको छ ।








