काठमाडौँ । स्ट्रेट अफ होर्मुज क्षेत्रमा इरानद्वारा पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइ प्रक्रिया अझै पूरा नभएको परराष्ट्र मन्त्रालयलेले स्पष्ट पारेको छ।
मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले झाको रिहाइका लागि आवश्यक कानुनी प्रक्रिया जारी रहेको जानकारी दिएका हुन्।
यसअघि परराष्ट्र मन्त्री शिशिर खनालले सामाजिक सञ्जालमार्फत झा रिहा भइसकेको उल्लेख गरे पनि पछि उनी अझै इरानकै हिरासतमा रहेको विवरण सार्वजनिक भएपछि विषयले चासो र आलोचना दुवै बटुलेको थियो।
प्रवक्ता क्षेत्रीका अनुसार पानीजहाजसम्बन्धी मुद्दामा संलग्न ७ जनामध्ये ४ जना यसअघि नै रिहा भइसकेका छन् भने बाँकी व्यक्तिहरूको हकमा अदालतको प्रक्रिया अघि बढिरहेको छ। उक्त मुद्दा इरानको बन्दर अब्बासस्थित स्थानीय अदालतमा टुंगो लाग्ने चरणमा रहेको उनले बताए।
उनले इरानको वर्तमान संवेदनशील परिस्थितिका कारण केही न्यायिक प्रक्रिया अझै पूरा हुन बाँकी रहेको र त्यसका लागि केही समय लाग्न सक्ने जानकारी दिए।
झाको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक तथा अन्य आवश्यक तहमा निरन्तर पहल गरिरहेको पनि मन्त्रालयले जनाएको छ। साथै, रिहाइ प्रक्रिया अघि बढिसकेको आधारमा मन्त्री खनालले पूर्वजानकारी सार्वजनिक गरेको हुनसक्ने भन्दै मन्त्रालयले उनको अभिव्यक्तिको प्रस्टीकरणसमेत दिएको छ।







