काठमाडौँ । नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालन गरिएको सैन्य आधार तालिम सम्पन्न भएको छ। कठिन परिस्थितिमा कर्तव्य निर्वाह गर्न सक्षम, अनुशासित र दक्ष सैनिक जनशक्ति तयार गर्ने उद्देश्यसहित सञ्चालन गरिएको तालिम शुक्रबार सम्पन्न भएको जंगी अड्डाले जनाएको छ।

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार देशका विभिन्न १६ स्थानमा सञ्चालन गरिएको नौ महिनाको आधारभूत सैन्य तालिम पूरा गरी २ हजार ४ सय ७१ जना सैनिक दीक्षित भएका छन्। तीमध्ये २ हजार ८७ पुरुष र ३ सय ८४ महिला रहेको विवरणमा उल्लेख छ।

समापन अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रमअन्तर्गत प्रशिक्षार्थीहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए। श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूलीमा आयोजित कार्यक्रममा बलाधिकृत रथी प्रदीप जंग केसीले निरीक्षण गरेका थिए भने श्री नं. २ सैन्य तालिम केन्द्र, सैनामैनामा सैनिक तालिम महानिर्देशक प्रेमबहादुर पुनले कवाज अवलोकन गरेका थिए। अन्य पृतना, बाहिनी तथा गण-गुल्ममा सम्बन्धित कमान्डरहरूले कार्यक्रम निरीक्षण गरेका थिए।

उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई सम्बन्धित कार्यक्रमका क्रममा सम्मान तथा पुरस्कार प्रदान गरिएको सेनाले जनाएको छ।
समापन समारोहमा स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, नवदीक्षित सैनिकका परिवारजन र स्थानीय सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।







