काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई चयन गरेसँगै संवैधानिक परिषद्ले पूर्ण संरचना पाएको छ।
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब डेढ महिनापछि सोमबार (वैशाख १४) काँग्रेसले आङ्देम्बेलाई संसदीय दलको नेता तोकेको हो। प्रमुख विपक्षी दलको नेतृत्व टुंगिएसँगै परिषद् पूर्ण बनेको मानिएको छ।
यसअघि दलको नेता चयन हुन ढिलाइ हुँदा संवैधानिक परिषद्को बैठक बस्न सकेको थिएन, जसका कारण प्रधानन्यायाधीशलगायत संवैधानिक निकायमा नियुक्ति प्रक्रिया समेत अवरुद्ध थियो। हाल कामु प्रधानन्यायाधीशको जिम्मेवारी सपना प्रधानले सम्हालिरहेकी छन्।
संविधानको धारा २८४ अनुसार परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ भने प्रधानन्यायाधीश, प्रतिनिधिसभा सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता तथा उपसभामुख सदस्य रहने प्रावधान छ।
अब परिषद्को बैठकमार्फत नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने अपेक्षा गरिएको छ। सिफारिस गरिएको नाम संसदीय सुनुवाइ समितिबाट दुई तिहाइ अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था रहेको छ।
परिषदमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) अध्यक्ष रहनेछन् भने सभामुख डीपी अर्याल, प्रधान न्यायाधीश, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, उपसभामुख रुबी ठाकुर तथा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सदस्य रहनेछन्। पहिलो बैठकमा कानुन मन्त्रीको सहभागिता पनि रहने व्यवस्था रहेको जनाइएको छ।







