काठमाडौँ । दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि तीव्र भएको भन्दै विपक्षी दलहरूले सरकारसँग महँगी नियन्त्रणका प्रभावकारी उपाय अपनाउन तथा सुपथ मूल्य पसल सञ्चालन गर्न माग गरेका छन्।
बिहीबार बसेको विपक्षी दलहरूको बैठकले बजारमा खाद्य तथा उपभोग्य सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेको निष्कर्ष निकाल्दै आम नागरिकलाई राहत दिने कार्यक्रम तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको हो।
बैठकको अध्यक्षता राष्ट्रिय सभामा नेकपा (एमाले) संसदीय दलका नेता प्रेमप्रसाद दंगालले गरेका थिए।
बैठकले दाल, चामल, तरकारी, फलफूल, मसला, खाने तेललगायत भान्सामा प्रयोग हुने वस्तुको मूल्यमा उल्लेख्य वृद्धि भएको जनाएको छ। मूल्यवृद्धिको प्रत्यक्ष असर न्यून आय भएका परिवार, मजदुर, किसान तथा सीमान्तकृत समुदायमा परेको विपक्षी दलहरूको भनाइ छ।
निर्णयअनुसार बजार अनुगमन सुदृढ गर्दै कालोबजारी नियन्त्रण गर्न, सार्वजनिक वितरण प्रणाली प्रभावकारी बनाउन तथा लक्षित वर्गका लागि सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारसँग माग गरिएको छ।
बैठकमा नेपाली काँग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापा, नेकपाका प्रमुख सचेतक युवराज दुलाललगायत नेताहरू सहभागी रहेको जनाइएको छ।






