काठमाडौँ । हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोकपथ अन्तर्गत भीमफेदी गाउँपालिका-८ भरेङडाँडामा गएको पहिरो हटाइएपछि सडकमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति खसेको पहिरोका कारण अवरुद्ध सडक आज अपराह्नदेखि दुवैतर्फ खुला गरिएको हो।
प्रहरीले मकवानपुर क्षेत्रअन्तर्गत त्रिभुवन राजपथ, पूर्व-पश्चिम महेन्द्र राजमार्ग तथा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जाने सडक खण्डमा हाल सबै प्रकारका सवारीसाधन नियमित रूपमा सञ्चालन भइरहेको जनाएको छ।
यसैगरी, हेटौँडाबाट वीरगञ्ज, चितवनको नारायणगढ तथा भीमफेदीबाट हेटौँडातर्फका मार्गमा पनि यातायात सेवा सुचारु रहेको जानकारी दिइएको छ।







