काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेन जेड आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारी साधनको नाममा इन्धन दुरुपयोग नभएको जनाएको छ ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
मन्त्रालयका अनुसार उक्त विषयको सत्य तथ्य छानबिन गर्न २०८३ वैशाख १५ गते सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले प्रहरी मुचुल्का, इन्धनसम्बन्धी अभिलेख, भुक्तानी विवरणलगायत कागजातको अध्ययन तथा विश्लेषण गरेको थियो ।
छानबिन समितिको निष्कर्षअनुसार जलेका सवारी साधनको नाममा इन्धन दुरुपयोग भएको देखिएको छैन ।
मन्त्रालयले अपुष्ट तथा भ्रम फैलाउने सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सरोकारवालालाई अनुरोध गरेको छ । साथै, मन्त्रालय पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति प्रतिबद्ध रहेको जनाउँदै सत्य तथ्यमा आधारित सूचना मात्र प्रवाह गर्न आग्रह गरेको छ ।








