काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल सक्रिय रहेको हुरीबतास र वर्षा गराउने मौसमी प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गएको जनाएको छ। यसको प्रभावले देशका विभिन्न प्रदेशमा वर्षा तथा चट्याङसहितको मौसम देखिन थालेको छ।
विभागका अनुसार सुदूरपश्चिमबाट सुरु भएको मौसमी प्रणाली लुम्बिनी हुँदै बागमती र मधेस प्रदेशसम्म विस्तार भइसकेको छ। यस क्रममा उपत्यकासहित ती क्षेत्रका धेरै स्थानमा वर्षा भइरहेको जनाइएको छ।
विभागका मौसमविद्का अनुसार हाल कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा हुरीबतास, मेघगर्जन तथा चट्याङसहित मध्यम स्तरको वर्षा भइरहेको छ। उनका अनुसार वर्षा गराउने प्रणाली क्रमशः पूर्वतर्फ सर्दै अघि बढिरहेको छ।
विभागले देशभर पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भाग नजिक विकसित न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको बताएको छ। साथै दक्षिणी भू-भाग हुँदै फैलिएको न्यून चापीय रेखाले पनि मौसममा असर गरिरहेको उल्लेख गरिएको छ।
मौसमविद्हरूका अनुसार हुरी बतासको गति केही स्थानमा करिब ४० किलोमिटर प्रतिघण्टा सम्म पुग्न सक्ने र प्रभाव दुई घण्टासम्म रहन सक्ने सम्भावना छ। हालको अवस्थाले साताभर नै मौसम अस्थिर रहने अनुमान गरिएको छ।
तीन दिनको मौसम पूर्वानुमान
आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका साथै पहाडी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरीबतास र असिनासहित मध्यम वर्षाको सम्भावना छ। यीमध्ये केही स्थानमा भारी वर्षा पनि हुन सक्ने विभागले जनाएको छ।
रातिको समयमा पनि पहाडी तथा हिमाली भू-भागका केही स्थान र तराईका थोरै भागमा वर्षा जारी रहने अनुमान छ।
भोलि मंगलबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने र राति पनि मेघ गर्जनसहित वर्षा जारी रहने सम्भावना रहेको विभागको पूर्वानुमान छ।
बुधबार कोशीदेखि लुम्बिनीसम्मका प्रदेश तथा पहाडी-हिमाली भूभागमा बदली रहनेछ। केही स्थानमा मध्यम वर्षा र तराईका केही क्षेत्रमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
विभागले हुरीबतास, चट्याङ र सम्भावित भारी वर्षाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन सबै नागरिकलाई आग्रह गरेको छ।







