काठमाडौँ । सोमबार देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार अन्य दिनभन्दा व्यस्त देखिएको छ । सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेशमार्फत एकै पटक ठूलो सङ्ख्यामा पदाधिकारी हटाउने निर्णय गरेसँगै मन्त्रालयहरू मातहतका निकायमा जानकारीसहित पत्र पठाउन व्यस्त देखिएका हुन् ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै विभिन्न क्षेत्रका १,५९४ जना पदाधिकारी पदमुक्त भएका छन् ।
सञ्चार, हवाई सेवा, मुद्रण, शिक्षा तथा विश्वविद्यालय, स्वास्थ्य, चिकित्सा, विज्ञान, ऊर्जा, पूर्वाधार, वित्तीय तथा नियमनकारी, कृषि, वातावरण, प्रज्ञा प्रतिष्ठान तथा प्रशासनलगायत सामाजिक क्षेत्रतर्फका पदाधिकारी पदमुक्त भएसँगै सम्बन्धित मन्त्रालयहरूले कानुनी प्रावधानअनुसार जानकारी दिनुपर्ने भएकाले दिनभरि पत्राचारमा व्यस्त रहेका हुन् ।
अध्यादेश राजपत्रमा प्रकाशित भइसकेको अवस्थामा मन्त्रालयहरूले सकेसम्म सोही दिन सम्बन्धित पदाधिकारी तथा निकायमा पदमुक्तिको पत्र पठाउने काम तीव्र बनाएका छन् ।







