काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति असहमति जनाउँदै संसदमा औपचारिक रूपमा विमति राख्ने निर्णय गरेको छ।
बुधबार सिंहदरबारमा सम्पन्न संसदीय दलको बैठकले सरकारले ल्याएको उक्त अध्यादेशका सन्दर्भमा पार्टीको असहमति संसद् मार्फत अभिव्यक्त गर्ने निष्कर्ष निकालेको हो। बैठकपछि प्रमुख सचेतक वासना थापाले उक्त निर्णयबारे जानकारी दिइन्।
उनका अनुसार संसदमा प्रस्तुत गरिने विमतिपछि सरकारको प्रतिक्रिया र त्यसपछिको प्रक्रिया हेरेर काँग्रेसले आगामी रणनीति निर्धारण गर्नेछ।
बैठकमा सार्वजनिक खरिदसम्बन्धी तथा सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्ने व्यवस्थासँग जोडिएका अन्य अध्यादेशका विषयमा पनि छलफल भएको जनाइएको छ।
ती विषयमा समेत पार्टीले संसदमा आफ्नो धारणा प्रस्तुत गर्ने तयारी गरेको प्रमुख सचेतक थापाले बताएकी छन्।







