काठमाडौँ । नेकपा एमालेले पार्टीका नेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस विभिन्न कार्यक्रममार्फत प्रभावकारी रूपमा मनाउन मातहत कमिटी तथा जनसंगठनलाई निर्देशन दिएको छ।
पार्टी महासचिव शंकर पोखरेलद्वारा जारी सर्कुलरमार्फत मदन भण्डारीको राजनीतिक विचार तथा जीवराज आश्रितको संगठनात्मक योगदानलाई जनस्तरसम्म पुर्याउने उद्देश्यसहित विविध कार्यक्रम सञ्चालन गर्न भनिएको हो।
एमाले केन्द्रीय कार्यालयका अनुसार जेठ ३ गते बिहान मदननगर बल्खुमा आयोजना हुने कार्यक्रममा पार्टी केन्द्र, उपत्यकाअन्तर्गतका कमिटी तथा काठमाडौँमा उपलब्ध जनसंगठनका कार्यकर्ताको अनिवार्य सहभागिता रहने उल्लेख गरिएको छ।
सर्कुलरमा प्रदेश र जिल्ला तहमा विचार गोष्ठी, जनताको बहुदलीय जनवादसम्बन्धी अन्तरक्रिया तथा सञ्चार माध्यममार्फत वैचारिक बहस सञ्चालन गर्न निर्देशन दिइएको छ। साथै वृक्षरोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पताल तथा कारागारमा भेटघाट, फलफूल वितरण लगायतका सामाजिक कार्यक्रम सञ्चालन गर्न पनि भनिएको छ।
एमालेले सार्वजनिक स्थानमा मदन भण्डारी र जीवराज आश्रितका तस्बिर प्रदर्शन गर्न तथा विभिन्न जनसंगठनलाई छुट्टाछुट्टै जिम्मेवारीसमेत तोकेको छ। अनेरास्ववियुलाई विद्यालय आसपास फोटो प्रदर्शनी, पर्चा तथा प्रचार सामग्री प्रदर्शन गर्न, युवा संघलाई पालिकास्तरमा मार्चपास आयोजना गर्न तथा अनेमसंघलाई ज्येष्ठ महिलासँग भेटघाट कार्यक्रम सञ्चालन गर्न निर्देशन गरिएको छ।
त्यसैगरी, किसान संघलाई फलफूलका बिरुवा रोप्न तथा श्रमिक, भूमी अधिकार, भूपू सैनिक र प्रहरीसम्बद्ध संगठनलाई विस्थापित तथा अव्यवस्थित बसोबासी समुदायसँग समन्वय गरी उनीहरूको अवस्थाबारे जानकारी लिन भनिएको छ।
पार्टीले सञ्चालन हुने सबै कार्यक्रमको प्रचारप्रसार सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत गर्न तथा सम्पन्न गतिविधिको संक्षिप्त प्रतिवेदन जिल्ला कमिटीमार्फत केन्द्रीय कार्यालयमा पठाउनसमेत निर्देशन दिएको जनाएको छ।







