काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकूल बकपत्र दिएको आरोपमा सुमित्रा कुमारी घिमिरे पुडासैनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार चन्द्रबहादुर अधिकारीसमेत प्रतिवादी रहेको घुस तथा रिसवतसम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएकी पुडासैनीले अनुसन्धानका क्रममा दिएको बयान विपरीत अदालतमा बकपत्र गरेकी थिइन्।
अनुसन्धानका क्रममा उनले आयोगलाई सहयोग गरेको आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ अनुसार सजायमा छुट दिई सरकारी साक्षी बनाइएको थियो। तर विशेष अदालत काठमाडौँमा मिति २०८३ वैशाख ९ गते भएको बकपत्रमा उनले पहिलेको बयान र आरोप माग दाबी विपरीत अभिव्यक्ति दिएको आयोगको दाबी छ।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार घुसबापत प्राप्त रकमसँग सम्बन्धित ५० लाख रुपैयाँको चेक ‘सुमित्रा कस्मेटिक एण्ड फेन्सी’ नाममा जारी भएको र उक्त व्यवसाय पुडासैनीसँग सम्बन्धित रहेको देखिएको छ। चेक सटहीका लागि बैंकसम्म पुगेको तथा पछि सटही नभएपछि चेक फिर्ता गरिएको तथ्यसमेत अनुसन्धानमा खुलेको आयोगले जनाएको छ।
उक्त गतिविधिलाई घुससम्बन्धी कसुरमा सहयोग पुर्याएको कार्यका रूपमा व्याख्या गर्दै आयोगले पुडासैनीविरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत ५० लाख रुपैयाँ बिगो कायम गरी कैद तथा बिगो बराबर जरिवानाको मागसहित विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको जनाएको छ।







