काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।
आयोगका अनुसार सोरु गाउँपालिका-१० स्थित शहिदगेटदेखि कोटसम्मको सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी परिमाण मूल्यांकन गरी भुक्तानी गरिएको आरोपमा वीरेन्द्र मल्लसहितका प्रतिवादीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको थियो ।
उक्त प्रकरणमा २३ लाख २२ हजार ८३२ रुपैयाँ १६ पैसाको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत सजाय तथा बिगो असुलउपरको माग गरिएको आयोगले जनाएको छ । साथै, ऐनको दफा १९ को उपदफा (२) अनुसार थप सजायको मागसमेत गरिएको थियो ।
तर, विशेष अदालतले २०८२ पुस २३ गतेको फैसलाबाट प्रतिवादीहरूलाई सफाइ दिएको थियो । सो फैसलाप्रति असन्तुष्टि जनाउँदै आयोगले २०८३ वैशाख २९ गते सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको जनाएको छ ।







