काठमाडौँ । नेपाली महावाणिज्यदूतावासले नेपाल-भारतबीच व्यापार, पारवहन, कनेक्टिभिटी तथा लगानी सहजीकरणका विषयमा कोलकातामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
महावाणिज्यदूतावासले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार १३ मे २०२६ मा ताज बंगाल मा “नेपालको व्यापार, पारवहन र लगानी सहजीकरण” विषयक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा व्यापार, लजिस्टिक, कनेक्टिभिटी तथा लगानीका क्षेत्रमा नेपाल-भारत सहकार्य अभिवृद्धिका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा श्यामाप्रसाद मुखर्जी पोर्टका अध्यक्ष राजेन्द्र रमनसहित वरिष्ठ अधिकारीहरू, कोलकाता भन्सारका प्रतिनिधि, ढुवानी कम्पनी तथा लजिस्टिक सेवा प्रदायक, भन्सार एजेन्ट संघका सदस्य, आयातकर्ता, निर्यातकर्ता, लगानीकर्ता, नेपाली व्यवसायी, सञ्चारकर्मी तथा सार्वजनिक–निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा उप-महावाणिज्यदूत दीपेश लेखकले नेपालको व्यापार र पारवहन संरचना, लगानीका अवसर तथा नेपाल–भारत आर्थिक सहकार्य सुदृढीकरणसम्बन्धी विषयमा प्रस्तुतीकरण दिएका थिए । यस्तै, श्यामाप्रसाद मुखर्जी पोर्टका ट्राफिक म्यानेजर रविशंकर राजहंसले बन्दरगाहमा उपलब्ध सुविधा, पूर्वाधार विकास तथा नेपालतर्फको कार्गो आवागमन सहज बनाउन चालिएका पहलका विषयमा जानकारी गराएका थिए ।
अन्तर्क्रिया सत्रमा व्यापार सहजीकरण, भन्सार समन्वय, रसद व्यवस्थापन, कनेक्टिभिटी र लगानी प्रवर्द्धनसम्बन्धी विषयमा सहभागीहरूबीच विचार आदानप्रदान भएको महावाणिज्यदूतावासले जनाएको छ । कार्यक्रममा उठाइएका विभिन्न जिज्ञासा र चासोलाई महावाणिज्यदूत झक्क प्रसाद आचार्यले सम्बोधन गरेका थिए ।
समापन मन्तव्यका क्रममा महावाणिज्यदूत आचार्यले नेपाल र भारतबीच व्यापार सहजीकरण, कनेक्टिभिटी तथा द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउन सबै सरोकारवालासँग सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रम धन्यवाद ज्ञापन तथा महावाणिज्यदूतावासद्वारा आयोजित दिवाभोजसँगै सम्पन्न भएको थियो ।








