काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको कार्यशैली र संसदीय जवाफदेहितामाथि प्रश्न उठाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको भूमिकाबारे स्पष्टता आवश्यक रहेको धारणा राखे।
बैठकमा धारणा राख्ने क्रममा सांसद केसीले सरकार प्रमुख संसद्प्रति उत्तरदायी हुनुपर्ने संवैधानिक अभ्यास स्मरण गराउँदै वर्तमान अवस्थामा त्यसमा कमजोरी देखिएको टिप्पणी गरे। उनले प्रधानमन्त्रीलाई संसद्को अभिन्न अंग मान्ने कि अलग सत्ता संरचनाको रूपमा हेर्ने भन्ने विषयमा प्रश्न उठाए।
त्यसै क्रममा उनले गृह प्रशासनसम्बन्धी जिम्मेवारीसमेत एउटै व्यक्तिमा केन्द्रित रहेको उल्लेख गर्दै राज्यका संवेदनशील निकायहरूको सञ्चालन संसद्को निगरानीभित्र रहनुपर्नेमा जोड दिए।
सांसद केसीले आगामी मनसुन सुरु हुन लागेकाले पूर्वतयारीलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरे। उनले विगतका वर्षहरूमा देखिएका विपद् र क्षतिबाट सिकेर योजनाबद्ध रूपमा तयारी गर्नुपर्ने आवश्यकता औँल्याए।
उनका अनुसार बारम्बार दोहोरिने क्षति न्यूनीकरण गर्न केवल विगतका तथ्यांक दोहोर्याउनेभन्दा पनि स्पष्ट कार्ययोजना र प्रभावकारी कार्यान्वयन आवश्यक हुन्छ। उनले विपद् व्यवस्थापनमा राज्यले दीर्घकालीन दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए।







