काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनले न्याय क्षेत्रलाई पुर्याएको योगदानको स्मरण गरेको छ।
प्रधान न्यायाधीशसहित न्यायाधीशहरूको सहभागितामा बसेको पूर्ण बैठकले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो। साथै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको जनाइएको छ।
सर्वोच्च अदालतका सहप्रवक्ता नीराजन पाण्डेद्वारा जारी विज्ञप्तिमा स्वर्गीय प्रधानलाई देवानी तथा फौजदारी कानुनका क्षेत्रमा विशेष दक्षता हासिल गरेका अनुभवी न्यायिक व्यक्तित्वका रूपमा उल्लेख गरिएको छ। विज्ञप्तिमा उनलाई निष्पक्ष, बौद्धिक तथा निष्ठावान् न्यायाधीशका रूपमा स्मरण गरिएको छ।
बैठकले न्याय र कानुन क्षेत्रको विकासमा उनले पुर्याएको योगदान उल्लेख गर्दै उनको निधनले राष्ट्रले एक समर्पित न्यायिक व्यक्तित्व गुमाएको निष्कर्ष निकालेको छ।
९५ वर्षको उमेरमा जेठ ६ गते निधन भएका प्रधानले विसं २०३२ भदौ २३ गते मध्यमाञ्चल क्षेत्रीय अदालतको अस्थायी न्यायाधीशका रूपमा न्यायिक सेवा सुरु गरेका थिए। त्यसपछि विसं २०४८ भदौ १४ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएका उनले २०५१ पुस ५ गतेसम्म उक्त जिम्मेवारी सम्हालेका थिए।







