काठमाडौँ । नेपाल चिकित्सक संघले जेठ १६ र १७ गते राष्ट्रिय चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ । ‘आधुनिक, सर्वसुलभ, किफायती तथा समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ भन्ने मूल नारासहित संघले आफ्नो ३०औँ सम्मेलन सञ्चालन गर्न लागेको हो ।
सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल को सभाहलमा आयोजना गरिने जनाइएको छ ।
संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीका अनुसार कार्यक्रममा भारत र चीनका विशेषज्ञ चिकित्सक तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूको सहभागिता रहनेछ । साथै, विश्व मेडिकल एसोसिएसनका विज्ञहरूको भिडियो प्रस्तुतीकरणसमेत समावेश गरिने बताइएको छ ।
देशभरबाट प्रतिनिधिमूलक सहभागिता रहने सम्मेलनमा चार वटा समूहगत छलफल सत्र सञ्चालन गरिनेछन् । कार्यक्रममा ६० वटा कार्यपत्रसहित १०० भन्दा बढी वैज्ञानिक प्रस्तुतीकरण हुने जनाइएको छ । यही अवसरमा संघका नवनिर्वाचित पदाधिकारीलाई जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
सम्मेलनका विभिन्न सत्रमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल स्वास्थ्य प्रणाली, ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा तथा स्वास्थ्य क्षेत्रको मानव संसाधन व्यवस्थापनलगायत विषयमा केन्द्रित छलफल हुने अध्यक्ष डा. कार्कीले जानकारी दिएका छन् ।
संघका अनुसार नियमित रूपमा दुई-दुई वर्षमा हुँदै आएको यो सम्मेलन पछिल्लो १२ वर्षयता तीन-तीन वर्षको अन्तरालमा आयोजना गर्न थालिएको हो ।
यसपटकको सम्मेलनमा संविधानले सुनिश्चित गरेको आधारभूत स्वास्थ्य अधिकारको प्रभावकारी कार्यान्वयन, स्वास्थ्य सेवामा समान पहुँच तथा आधुनिक प्रविधि र नवप्रवर्तनलाई स्वास्थ्य प्रणालीसँग कसरी जोड्ने भन्ने विषयमा विशेष जोड दिइने बताइएको छ ।







