काठमाडौँ । नेपालस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जालमा फैलिएका एक आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । दूतावासका प्रवक्ताले फेसबुकमार्फत जारी गरेको प्रतिक्रियामा उक्त आरोपलाई अस्वीकार गर्दै यसबारे गम्भीर अनुसन्धान गर्न नेपाली निकायलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा हालै एक चिनियाँ नागरिकले नेपालका केही सञ्चारमाध्यमका पत्रकारलाई निश्चित नेपाली राजनीतिज्ञविरुद्ध नकारात्मक समाचार प्रकाशन गर्न घुस दिन खोजेको भन्ने दाबी फैलिएको सन्दर्भमा दूतावासले प्रतिक्रिया दिएको हो ।
दूतावासका प्रवक्ताले उक्त आरोपप्रति चिनियाँ पक्ष “गहिरो रूपमा स्तब्ध” भएको उल्लेख गर्दै त्यसलाई स्पष्ट रूपमा अस्वीकार गरेको जनाएका छन् । साथै, चीनविरुद्ध नियोजित रूपमा गरिने बदनाम गर्ने गतिविधिको निन्दा गरिएको पनि उल्लेख गरिएको छ ।
प्रवक्ताले चीनले सधैँ अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त अवलम्बन गर्दै आएको र नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको संरक्षणमा निरन्तर समर्थन गर्दै आएको बताएका छन् । साथै, नेपालको राजनीतिक स्थायित्व, आर्थिक विकास तथा जनजीविकाको सुधारमा पनि चीनले सहयोग गर्दै आएको उल्लेख गरिएको छ ।
दूतावासले उक्त विषयमा नेपाली सम्बन्धित निकायलाई “गम्भीर, गहिरो र विस्तृत अनुसन्धान” गर्न आग्रह गरेको छ । साथै, घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न व्यक्तिलाई नेपाली कानुनअनुसार कारबाही गर्नुपर्ने धारणा पनि सार्वजनिक गरिएको छ ।
प्रवक्ताले नेपाल र चीनबीचको साझा हित संरक्षणका लागि कानुन कार्यान्वयन तथा सुरक्षा सहकार्यलाई थप सुदृढ गर्न चिनियाँ पक्ष तयार रहेको बताएका छन् ।
सन्देशको अन्त्यमा “तर्क र विवेकले अफवाहको अन्त्य गरोस्” भन्ने सन्देश दिँदै दूतावासले नेपाल–चीनबीचको परम्परागत मित्रता र सहकार्य प्रवर्द्धनमा दुवै पक्षले सहकार्य गर्ने विश्वास व्यक्त गरेको छ ।








