काठमाडौँ । चिकित्सा शिक्षा आयोगको रिक्त रहेको उपाध्यक्ष पदको जिम्मेवारी डा. श्रीकृष्ण गिरीलाई दिइएको छ । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाह (बालेन)ले सोमबार उनलाई उक्त जिम्मेवारी दिएका हुन् ।
प्रशासन स्रोतका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि उनलाई आयोगको नेतृत्व तहमा जिम्मेवारी दिइएको हो ।
यसअघि सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न ल्याइएको अध्यादेश कार्यान्वयनपछि आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झासहित पदाधिकारी पदमुक्त भएका थिए । त्यसयता उपाध्यक्ष पद रिक्त रहेको थियो ।
आयोगका पूर्वउपाध्यक्षसमेत रहेका डा. गिरी आयोग स्थापनापछिका पहिलो उपाध्यक्ष हुन् । उनले यसअघि चार वर्षे कार्यकाल पूरा गरेका थिए ।







