काठमाडौँ । नेपाली काँग्रेसकी सांसद रेखाकुमारी यादवले गौशाला नगरपालिका-५ मा बसोबास गर्दै आएका ३४ घरपरिवारमाथि भइरहेको भनिएको डोजर प्रयोगसहितको हटाउने प्रक्रिया तत्काल रोक्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै उनले उक्त विषय केवल केही घरपरिवारको बसोबासको मुद्दा मात्र नभई नागरिकको आधारभूत अधिकार, मानव मर्यादा, कानुनी शासन तथा लोकतान्त्रिक मूल्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको बताइन्।
उनले सर्वोच्च अदालतको आदेश विपरीत सूचना टाँस गर्ने, डोजर प्रयोग गर्ने चेतावनी दिने तथा स्थानीय बासिन्दामाथि मानसिक दबाब सिर्जना गर्ने गतिविधि भइरहेको आरोप लगाइन्। त्यसबाट उत्पन्न तनावका कारण ६२ वर्षीय विनोद साहको हृदयाघातबाट मृत्यु भएको दाबी पनि उनले गरिन्।
सांसद यादवले प्रभावित परिवारलाई बलपूर्वक हटाउने कार्य तत्काल स्थगित गर्न, त्यहाँ बसोबास गरिरहेका ३४ घरधुरीको संवैधानिक, कानुनी तथा मानवीय अधिकार सुनिश्चित गर्न तथा सम्बन्धित पक्षबीच संवादमार्फत समाधान खोज्न सरकारको ध्यानाकर्षण गराइन्।







