काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र देखिएको लामो समयदेखिको आन्तरिक विवाद र संस्थागत गतिरोधप्रति जिल्ला प्रशासन कार्यालय काठमाडौँले हस्तक्षेप गर्दै संघको कार्यसमिति स्वतः विघटन भएको निष्कर्ष निकालेको छ। साथै, प्रशासनले विधानअनुसार नयाँ नेतृत्व चयनको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालयको संस्था दर्ता शाखाले संघलाई पठाएको निर्देशनपत्रमा बहुमत पदाधिकारी तथा सदस्यहरूको राजीनामापछि कार्यसमितिको निरन्तरता समाप्त भएको उल्लेख गरिएको छ। प्रशासनका अनुसार त्यसपछिको परिस्थितिमा सल्लाहकार समितिले कार्यसमिति विघटनको घोषणा गर्दै प्रबन्ध समिति गठन गरेको र सोही समितिले विशेष साधारण सभा तथा निर्वाचन प्रक्रिया अघि बढाउने प्रयास गरेको थियो।
प्रशासनले संघभित्रको विवादका कारण वैदेशिक रोजगार व्यवसायसँग सम्बन्धित समग्र क्षेत्रको प्रतिनिधित्व र समन्वय प्रभावित भएको भन्दै यस अवस्थालाई गम्भीर रूपमा लिएको जनाएको छ।
निर्वाचनको तयारीमा अवरोध सिर्जना भएको उल्लेख गर्दै प्रशासनले त्यस्ता गतिविधि रोक्न, शान्ति सुरक्षा कायम गर्न तथा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा बाँकी प्रक्रिया सम्पन्न गर्न निर्देशन दिएको छ।
प्रशासकीय अधिकृत तीर्थराज कट्टेलद्वारा हस्ताक्षरित पत्रमा संघसँग आबद्ध संस्थाहरूलाई समयमै जानकारी उपलब्ध गराई नवीकरण तथा आवद्धतासम्बन्धी कार्यलाई तीव्र बनाउन पनि भनिएको छ।
प्रचलित कानुन र संघको विधानअनुसार सञ्चालन हुने प्रक्रिया अवरुद्ध नगर्न प्रशासनले सबै पक्षलाई सचेत गराएको छ। साथै, प्रक्रिया अघि बढेको अवस्थाबारे नियमित रूपमा प्रशासनलाई जानकारी गराउनसमेत निर्देशन दिइएको छ।
संभावित तनाव र अवाञ्छित गतिविधि नियन्त्रणका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयले प्रहरी परिसर काठमाडौँलाई समेत पत्राचार गरेको जनाएको छ।







