काठमाडौँ । सरकारी स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउँदै हेटौँडामा करिब चार कठ्ठा क्षेत्र खाली गराइएको छ ।
प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र अन्तर्गत पर्ने जग्गा हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडा क्षेत्रमा पर्ने बताइएको छ । सो क्षेत्रमा संघीय सरकारको स्वामित्वमा रहेको कित्ता नम्बर ९६ को जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाइएको हो ।
प्रहरी, सशस्त्र प्रहरी र डोजरको सहयोगमा शुक्रबार बिहानदेखि सञ्चालन गरिएको संयुक्त अभियानमार्फत घर, टहरा, होटेल तथा खाजाघरजस्ता संरचना हटाइएको जनाइएको छ । सार्वजनिक सूचना जारी गरिए पनि अटेर भएपछि कारबाही अघि बढाइएको हो ।
अतिक्रमण हटाइएका संरचना स्थानीय बासिन्दा विष्णुप्रसाद दंगाल, धनबहादुर लामा, सावित्री बज्राचार्य ९कुँवर०, नवीन श्रेष्ठ, उदव चौलागाईं र कृष्णबहादुर पाख्रिनले निर्माण गरेको केन्द्रले जनाएको छ ।
उक्त सरकारी सम्पत्ति करिब ७१ बिघा १६ कठ्ठा १६ धुर क्षेत्रफलमा फैलिएकोमध्ये पर्छ । यसमध्ये नौ बिघा सात कठ्ठा १२ धुर क्षेत्रफल विभिन्न व्यक्ति तथा संस्थाद्वारा लामो समयदेखि अतिक्रमणमा परेको बताइएको छ ।
हालसम्म करिब १३ कठ्ठा जग्गा खाली गराइसकिएको र बाँकी अतिक्रमित क्षेत्र क्रमशः खाली गरिँदै जाने सम्बन्धित निकायले जनाएको छ ।







