काठमाडौँ । झापाको मेचीनगर नगरपालिका-९ स्थित सतीघट्टा क्षेत्रमा विद्यालय बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार बुधबार अपराह्न करिब ५ बजेर २० मिनेट जाँदा भएको दुर्घटनामा मेचीनगर नगरपालिका-७ निवासी २५ वर्षीय अजय राजवंशी तथा भारतको किशनगञ्ज जिल्ला, गलगलिया निवासी ३३ वर्षीय अजय माझीको घटनास्थलमै ज्यान गएको हो।
प्रहरीका अनुसार इटाभट्टा-भद्रपुर सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ गइरहेको होलीबेल अङ्ग्रेजी विद्यालयको मे १ प ३९१ नम्बरको विद्यालय बस र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।
दुर्घटनापछि मृतक दुवै जनाको शव परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न मेची प्रादेशिक अस्पतालमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।







